-नवीन सुब्बा
जनवरीको पहिलो साता डेनमार्क गएको थिएँ। त्यहाँका फिल्म उद्योगसँग सम्बन्धित विभिन्न संघसंस्थाको भ्रमण गर्ने कार्यक्रम थियो। डिसिसीडी (डेनिस सेन्टर फर कल्चर एन्ड डेभलपमेन्ट)को निम्तोमा १४ वटा संस्थाको भ्रमण र प्रशस्त छलफल भयो। हलिउडको अतिक्रमणले युरोपका अरु थुप्रै मुलुकलाई गाँजे पनि डेनमार्कको बलियो उपस्थितिले मलाई चकित तुल्यायो। उनीहरुले २७ प्रतिशत घरेलु दर्शकलाई अड्याउन सकेका रहेछन्। सन् १९९० पछि संस्कृतिमा राज्यले ठूलो लगानी गरेपछि यति राम्रो अवस्था बनेको त्यहाँका फिल्मकर्मीले बताए।
डेनमार्कमा फिल्ममाथि सरकारले ठूलो लगानी गरेको छ। नीतिगत स्पष्टता मलाई महत्वपूर्ण पक्ष लाग्यो। मुख्य कुरा पैसा र उपकरण होइन प्रतिभा हो भन्ने कुरा राम्ररी बुझेका रहेछन्। प्राथमिक स्कुलबाट नै फिल्म प्रतिभामा लगानी गरिएको पाएँ। स्टुडियो, फिल्म बनाउने तरिका आदि देखाउँदै बालबालिकालाई फिल्ममा ईच्छा जगाउने तरिका निकै प्रभावकारी लाग्यो। ‘स्टेसन नेक्सट’मा १३ देखि १७ वर्षका किशोर किशोरी सहभागी भएर एक हप्तामै फिल्म बनाउने गरेको देखेँ।
‘सुपर सिक्सटिन’मा १६ युवा तीन वर्ष लगाएर पढ्छन्। क्षमता बिस्तार गरेपछि बल्ल उनीहरु फिल्म कलेज भर्ना हुन्छन्। पहिले नै फिल्मको धेरै ज्ञान हासिल गरेको हुँदा त्यसलाई निखार्ने काम मात्र हुन्छ कलेजमा। त्यहाँ निखारिएकाहरुले संसारलाई प्रभावित तुल्याउने फिल्म बनाएको प्रशस्त उदाहरण छ।
युरोपमा हलिउड फिल्मको चाप छ। डेनमार्क सही रणनीतिले गर्दा हलिउडसँग प्रतिस्पर्धा गर्न सक्ने फिल्म बनाउन सक्षम छ। अर्को महत्वपूर्ण पक्ष के भने त्यहाँ सोचको एकरूपता छ। फिल्मलाई उनीहरु सांस्कृतिक उद्योग मान्छन्। स्कुल, कलेज, निजी लगानीमा फिल्म बनाउने निर्माता र सरकारले एउटै कुरा बोल्छ। निर्माताहरु फिल्ममा मात्र होइन प्रतिभामा पनि लगानी गर्छन्। दीर्घकालीन सोचले अघि बढेको हुँदा त्यहाँको फिल्म उद्योगमा मुनाफा मात्र छ।
त्यहाँको फिल्म निर्माता संघले हाम्रो जस्तो ‘जे बिक्छ त्यो बेच्ने’ भन्दैन। हाम्रा निर्माताहरु कल्चरदेखि पन्छिन्छन्। तर, त्यहाँका निर्माताहरु कल्चरलाई नै फिल्ममार्फत् बेच्छन्। आफ्नो विषयमा बनाउने हुँदा नवीनता र विविधता दुवै हुन्छ। संस्कृति, जेनर र विषयवस्तु अरुको भन्दा विविध नभए बाहिरको अतिक्रमण रोक्न सकिँदैन भन्नेमा उनीहरु सचेत छन्।
हामीकहाँ जे बिक्छ त्यो बेच्न थाल्दा अरु देशको फिल्म बढी बिक्न थालेको छ। बेलैमा विचार नपुर्याए यो समस्या अझै बिकराल बन्छ। हलिउडको नक्कल गरेकै कारण अस्ट्रेलियाको फिल्म उद्योग असफल भएको तथ्य उनीहरुले बुझेका छन्।
डेनिस डिजाइन स्कुलमा प्रोडक्सन डिजाइनको पढाइ हुँदोरहेछ। हामीले बनाउने फिल्ममा यस्तो जनशक्तिको प्रयोग नै हुँदैन। प्रोडक्सन डिजाइनरले निर्देशकसँग बसेर स्त्रि्कप्टको विश्लेषण गर्छन्। सेट, लुगा, कलाकारको मुद्रा आदिको कलरग्राफ तयार पार्छन्। जसले गर्दा सुटिङपूर्व नै फिल्मको टोन थाहा हुन्छ।
इन्डिजिनियस फिल्म अर्काइभ (आइफा)का केही कार्यक्रममा डेनिस दूतावासले सहयोग गरेको छ। आइफाको प्रतिनिधित्व गरेर मैले यो भ्रमण गरेको हुँ। केहीअघि त्यहाँ हाम्रो दूतावासको सहयोगमा नेपाली फिल्म देखाइएको थियो। त्यहाँका फिल्मकर्मीले हाम्रो नेपाली फिल्मको सम्पादन पक्ष कमजोर रहेको औँल्याए। त्यहाँका केही सम्पादक नेपाल आएर यहाँका निर्देशकसँग काम गर्न ईच्छुक छन्। कोपनहेगेन फिल्म फेस्टिभलमा नेपाल सेक्सनको कुरा भएको छ। डकुमेन्ट्रीको क्षेत्रमा सहनिर्माता भएर काम गर्न पनि उनीहरुले इच्छा देखाएका छन्।
डेनिस फिल्म स्कुलले सर्ट कोर्समा नेपाली निर्देशकलाई सामेल गराउने र स्त्रि्कप्टमाथि छलफल गरी आइडिया दिने विषयमा पनि चासो देखाएका छन्। यी कुरा आइडियाको तहमा छ। छिट्टै यसलाई अफिसियल रूप दिन लागिपर्नेछु। यसो गर्न सकियो भने स्तरीय फिल्म निर्माणमा टेवा पुग्न सक्छ।
(सन्तोष रिमालले गरेको कुराकानीमा आधारित)