गाउँलेदेखि सूर्यचन्द्रसम्म २० वटा फिल्म निर्देशन गरेका निर्देशक दीपक श्रेष्ठले आफ्नो पहिलो फिल्म गाउँलेमा दीपाश्री निरौलालाई नायिकाको रूपमा ‘ब्रेक’ दिए । गोली सिसाको…को गीतबाट समेत चर्चित भएकी दीपाश्रीलाई मिलनसार र समझदार कलाकारको रूपमा व्याख्या गर्छन्, उनी । ‘म नयाँ थिएँ । जसका कारण राम्ररी खुलेर काम गर्न सकिनँ । तर, कलाकारले भने साथ दिएका हुन् ।’ गाउँलेमा बिपना थापा प्रमुख नायिका थिइन् । उनले पनि कुशल कलाकारको भूमिका निभाएको बताउँदै उनले भने, ‘म नयाँ भएर होला सायद, उनी रिजर्ब बस्थिनन् । मलाई पनि कता-कता असजिलो महसुस हुन्थ्यो । तर, भूमिकाअनुसार भने जमेर काम गरिन् ।’
गाउँले सफल भएपछि निर्देशक दीपक हौसिए आफैँ निर्माता बन्न । घोषणा गरिहाले- भाइ । हिरोइन कसलाई लिने ? त्यतिवेला जल शाह चल्तीमा थिइन् । जललाई हिरोइन लिन उनको घरसम्मै पुगेर कुरा पनि गरे । तर, जलले उनलाई राम्रो व्यवहार गरिनन् । ‘सायद उनले मलाई पत्याइनन्,’ फल्यासब्याकमा गए दीपक, ‘जलले पारिश्रमिक धेरै डिमान्ड गरिन् । उनको कुरा गर्ने स्टाइल पनि मन परेन । सायद मेरो फिल्म नखेल्ने मनसाय थियो क्यारे, ठुल्ठूला कुरा गरिन् । स्टार हो, अलि-अलि नखरा त सहनुपर्यो भनेर कोसिस गरियो । तर उनलाई लिन सकिएन ।’ जलले नटेरेपछि भाइमा उनले लिए, मेलिना मानन्धरलाई । ‘मेलिना समझदार । भनेको पारिश्रमिकमा काम गरिन् । सुटिङमा कुनै टेन्सन दिइनन् ।’ उनले भने, ‘त्यसपछि उनीसँग काम गर्ने मौका मिलेको छैन ।’ गाउँलेपछि आफ्नो अर्काे फिल्ममा पनि दीपाश्रीलाई लिने कुरा चलाए पनि उनी टेलिसिरियलतिर लागेकाले खेल्ने इच्छा नदेखाएको उनले बताए ।
जीवनसाथी, दीपकले निर्देशन गरेको तेस्रो फिल्म हो । जसमा उनले सोलो हिरोइन लिए- झरना थापालाई । सुटिङताकाको एउटा नमीठो प्रसंग पनि कोट्याए-बैरेनीको बेसक्याम्पमा सेट लगाएर जीवनसाथीको क्लाइमेक्स सुटिङ भइरहेको थियो । झरनाले आफू सोलो हिरोइन भएको फिल्म छाडेर काठमाडौंमा सुटिङ भइरहेको उगेन छोपेलको बादलपारि फिल्मको एउटा गीतको टुक्रामा नाच्न जानका लागि हतारो गरिन् । त्यसकारण क्लाइमेक्स ठोकठाकमा सिध्याउनुपर्यो । यसमा पनि आफू नयाँ भएकाले नगनेको हो कि भन्ने भान परेको रहेछ उनलाई । ‘म त सानो डाइरेक्टर, भर्खरै तेस्रो फिल्म गर्दै गरेको । उगेन छोपेल, विनोद शेरचनको फिल्म भनेपछि मेरो फिल्मलाई त बालमतलब !’ दीपकले भने, ‘त्यतिवेला उनी प्रोफेसनल थिइनन् ।’
अजम्बरी मायामा दीपकले पहिलोचोटि सँगै काम गरे निरुता सिंहसँग । ‘निरुता सबै कुरामा पर्फेक्ट । मिलनसार, कलाकारिता बुझेकी, सिनियरलाई रेस्पेक्ट गर्ने, अभिनय पनि उत्तिकै राम्रो ।’ त्यसपछि उनका अन्य आधा दर्जन फिल्ममा काम गरेकी निरुताको तारिफ गर्दै उनले थपे, ‘म त भन्छु, निरुता आजसम्मकै सबैभन्दा राम्री हिरोइन हुन् । उनका हरेक पक्ष पूर्ण छन् ।’ अजम्बरी माया मा उनले अरुणिमा लम्साल र कादम्बीनी पाण्डे, दुई जना युवतीलाई छोटो भूमिकामा प्रस्तुत गरे । अरुणिमा अहिले चर्चित नायिकाको कोटीमा पर्छिन् भने कादम्बिनी त्यसपछि ग्रहण फिल्ममा सहनायिका भई देखापरिन् । ग्रहण नचलेपछि उनलाई अरू फिल्ममा देख्न पाइएको छैन । अरुणिमाको अहिलेको सफलताको तारिफ गर्छन् उनी । ‘अरुणिमामा त्यतिबेलै प्रचुर मात्रामा कलाकारिता देखेको थिएँ,’ निर्देशकसाहेबले भने, ‘पछि आफूलाई प्रमाणित गर्दै गइन् ।’
निर्देशक दीपकले अर्काे फिल्म निर्देशन गरे, आफ्नोपन । जसमा निरुता सिंहका साथै मुना कार्की र अनिता अधिकारी पनि नायिकाको रूपमा थिए । ‘मुना सहजताका काम गर्ने, लामो-लामो संवाद पनि एकचोटिमै बोल्न सक्ने खुबी भएकी नारी हुन्’ मुनाको सवल पक्ष केलाउँदै अनिताको दुर्बल पक्षको बारेमा बोले उनी, ‘त्यतिवेलै अनितामा जीवन्त अभिनय गर्ने क्षमता न्यून थियो । नृत्यमा पनि कमजोर । सायद त्यही कारणले उनी स्थापित भएको देख्न नपाइएको ।’
दुःख निर्देशक दीपकको हिट फिल्ममध्ये एक हो । जसमा निरुताका साथै सौजन्या सुब्बा पनि थिइन् । निरुताको कुरा गर्न त के बाँकी रह्यो र ! सौजन्याको बारेमा उनले भने, ‘त्यतिवेलै सबैले उनको पर्फमेन्सको तारिफ गरेका थिए । बीचमा कता-कता सिरियलतिर लागिन् । अहिले ठूलो फिल्म खेलेकी छिन् भन्ने सुनेको छु । उनी सम्भावना बोकेकी हिरोइन हुन् । अरूभन्दा पनि अभिनयले खान सक्छिन् उनी ।’
राम-लक्ष्मण फिल्ममा पनि फेरि निरुतासँग काम गरे उनले । थप थिइन्, उषा पौडेल । उषालाई राम्रो रोल दिएको भए पनि उनले आफूलाई सहज रूपमा प्रस्तुत गर्न नसकेको बताउँदै उनले भने, ‘काममा ध्यानकेन्दि्रत गर्न नसकेको पाएँ ।’ त्यतिवेला उषाले बच्चाको जस्तो व्यवहार देखाएको स्मरण गर्दै उनले सम्भिmए, ‘पोस्टरमा आफ्नो फोटो राखिएन भनेर मेरो कुरा काट्दै हिँडिन् । पोस्टरमा कसको फोटो राख्ने, कसको नराख्ने भन्ने कुरा त निर्माता निर्देशकको बिजनेस पोलिसी हो नि ! त्यो उनले बुझिनन् । जसका कारण उनी प्रोफेसनल लागिनन् मलाई ।’ त्यसपछिका उनका फिल्ममा उषा दोहोरिएकी छैनन् ।
नायिका सज्जा मैनालीसँग पहिलोचोटि भाइ-भाइमा काम गरेका निर्देशक दीपक उनको कामबाट निकै प्रभावित भएको बताउँछन् । ‘कलाकारकी छोरी, सबैलाई उत्तिकै आदर गर्ने । अभिनय, नृत्य तथा संवाद सम्प्रेषण शैली पनि अब्बल । अनि पूर्ण व्यावसायिक । कमजोर पक्ष केही देखिनँ,’ सज्जाको अभाव खड्किने गरेको बताउँदै उनले भने, ‘सज्जा कलाकारिताले भरिपूर्ण कुशल नायिका थिइन् ।’
रेखा थापासँग हिम्मतमा पहिलोचोटि सँगै काम गरेका उनले भने, ‘हिम्मतमा रेखा तेब्बर भूमिकामा थिइन्,’ अलि स्पष्ट पाराँै न ! अनि उनले खोले, ‘डबल रोल त्यसमाथि त्यो फिल्मको निर्माता पनि उनी आफँै । भएन त तेब्बर ।’ रेखा निकै व्यावसायिक र फिट नायिका भएको बताइसकेका छन् उनले ।
दीपकले निर्देशन गरेका मध्येमा अहिलेसम्म कम व्यवसाय गरेको फिल्म आमाको आशीर्वादमा उनले फेरि लिए निरुतालाई । पहिलोचोटि काम गरे सञ्चिता लुइँटेलसँग । ‘नरम स्वभाव । अहमताविहीन । अभिनय, नृत्य, लुक्स पनि पर्फेक्ट ।’ सञ्चिताको बारेमा उनले भनेे, ‘सरिफ हिरोइन । उनीसँग अहिलेसम्म पनि सौहार्दपूर्ण सम्बन्ध छ ।’
करिश्मा मानन्धरलाई पहिलोचोटि निर्देशन गरे निर्देशक दीपकले पापी मान्छेमा । ‘एउटा सपना थियो, उहाँसँग काम गरूँ भन्ने,’ उनले बताए, ‘उहाँ मान्छे मात्र राम्रो नभई काम पनि उत्तिकै राम्रो । डे्रसअप सेन्स पनि भएकी । आफँै डे्रस डिजाइन गर्ने । कलाकारिताले भरिपूर्ण ।’ यति हुँदाहुँदै पनि करिश्माको चित्त नबुझ्दो पक्ष पनि उजागर गरे उनले- अलि मुडी टाइपकी । अरूको कठिनाइ नबुझ्ने । कुन वेला के जंग चल्छ, सुटिङमै नआइदिने । यो बानी भने सुधार्न जरुरी देख्छु म ।’
नायिका सज्जासँग कृष्ण-अर्जुन फिल्ममा फेरि सँगै काम गरेका निर्देशक दीपकले त्यसपछि नायिका झरना थापाको निर्माणमा तक्दिर फिल्म निर्देशन गरे । त्यतिवेला भने उनलाई लाग्यो, झरना प्रोफेसनल भइसकिछन् । ‘निकै सौहार्द
वातावरणमा काम गरियो । कुनै टेन्सन भएन ।’ उनले भने, ‘फिल्म पनि त सुपरहिट भयो नि ! झरनाले पहिलोचोटि बेस्ट हिरोइनको अवार्ड जितिन् । झरनाको करिअरको टर्निङ प्वाइन्ट बन्यो त्यो फिल्म ।’ झरना अहिले निकै प्रोफेसनल भएको बताउँदै उनले थपे, ‘उहाँ सबै कुरामा पर्फेक्ट हुनुहुन्छ । विगतका कमी-कमजोरीलाई पूर्ण रूपले सुधार्नुभएको छ ।’
निर्देशक दीपकले पर्खी बसें फिल्ममा यमुना उप्रेती -अचेल युना) लाई सोलो हिरोइन लिए । साइबर संसारमा फोटो हेरेर अडिसन लिइ हिरोइनका लागि छनौट गरेको बनाउदै उनले भने,’युना अभिनय, नृत्य, सम्वाद सम्प्रेषण, सबै कुरामा पूर्ण छिन् । उनको हाइटले पनि साथ दिएको छ । देख्दैमा हिरोइन लाग्छिन उनी,’ युनाको प्रसंसा अझै थप्दै उनले भने,’उनको स्वर पनि निकै मिठो छ । मिलनसार, अहमता छैन । आउदो दिनकी उदाउदी नायिका हुन उनी ।’ निर्देशक दीपक नायिका युनाको गडफादर मानीन्छन् । ‘आफुले ल्याएको कलाकारको संरक्षण पनि आफैले गर्नुपर्छ भन्ने मान्यता मेरो छ । त्यसकारण पनि उनलाई मेरा प्राय फिल्ममा खेलाएको छु,’ स्पष्टिकरण दिदै उनले भने,’उनी आफैमा योग्य छिन् जसकारण उनी दिनानुदिन सफतान्मुख छिन् ।’ आफैले निर्माण गरेको हिम्मत २ फिल्म उनले युनालाई दोहोरो भूमिकामा अभिनय गराएका छन् । ‘हिम्मत २ रिलीज भएपछि बल्ल सुरु हुन्छ युनाको असली करिअर’, भबिष्यवाणी गर्दै उनले भने,’त्यो फिल्ममा उनले द्धन्द्धका खतरनाक स्टण्टहरु गरेकी छिन् । जुन कमैले मात्र गर्न सक्छन् । युनालाई चम्काउनेछ यो फिल्मले ।’
उनको सपना थियो रे, पुरानी नायिका तृप्तीसँग काम गर्ने । ‘त्रिशुलमा पूरा भयो,’ सानैमा तृप्ती अभिनीत सम्झना फिल्म हेरेको बताउदै निर्देशक दीपकले भने,’एक दमै माइडिएर, हासीहासी काम गर्ने । उहिल्यैदेखि अहिलेसम्म पनि उत्तिकै चार्मीङ । निकै रमाइलो स्वभावकी । साँच्चीकै हिरोइन लाग्यो उनी ।’ त्रिशुल फिल्मले दिपकले अर्की नायिका नन्दिता केसीलाई आफ्नो निर्देशनमा काम गराए । नन्दिता सोझी लाग्यो उनलाई । ‘स्पटमा पनि धेरै नबोल्ने । नखरा पनि नपार्ने । सरल मिजासकी ।’ नन्दिताको कमजोर पक्ष पनि याद गरेका रहेछन् उनले । भने,’सबै कुरा औसत हो । तर उनले कुनै कुनै सम्वाद प्रस्टसँग बोल्न नसकेको पाएको छु । कोसिस गरे सुर्धान सकिन्छ । अलि दमदार बनाउन जरुरी छ ।’
पूजना प्रधानलाई भने माझीएकी हिरोइनको रुपमा बुझेका रहेछन् उनले । पापी मान्छे २ मा पहिलोपटक पूजनालाई आफ्नो निर्देशनमा काम गराएका दीपकले भने,’उनीमा नर्वसनेस, संकोच भन्ने कुरै छैन । निकै कन्फीडेन्टका साथ अभिनय गर्छिन । डाइलग डेलीभरी, डान्समा पनि पर्फ]{ट पाएँ ।
फेरि युनालाई खेलाए पहिलो पहिलो माया फिल्ममा उनले । त्यसपछि उनले निर्देशन गरेको फिल्म हो यही मायामा भने नयाँ हिरोइन लिए, जानकी -अचेल जिया) केसी । अहिलेकी सबैभन्दा सून्दर नायिका लाग्छ जिया उनलाई । ‘कता कता करिना कपुर र केट्रिना कैफको लुक्स आउछ जियामा’, जियाको कमजोर पक्ष पनि केलाए उनले,’आउटलुक, अभिनय राम्रो भए पनि नृत्यमा भने अझै मेहनत गर्नुपर्छ उनले ।
पछिल्लो समयमा सूर्यचन्द्र फिल्म निर्देशन गरेका दीपकले त्यो फिल्ममा युनाका साथै निर्माता रम्भा ओली -अहिले मुरारी पोखरेल मात्रै) की श्रीमति शुभश्री नायिका छन् । ‘शुभश्रीको इन्ट्री नै ढिलो भएजस्तो लाग्यो,’ सुन्दरता र अभिनय राम्रो भए पनि नायिका बन्न ढिलो भएको अनुमान गर्दै उनले भने,’कोसिस गरे नहुने के छ र ?’
अब निर्देशक दीपकले रेखा थापा, चिरञ्जीबि बस्नेत र गोपीकृष्ण मुभीजका चार वटा फिल्म निर्देशन गर्दैछन । ती चार फिल्ममा माथि उल्लेखीत मध्येकै हिरोइन रहने बताउदै उनले भने,’नयाँ हिरोइन पनि चाहिएको छ । पाइएको छैन ।’
August 13th, 2010 at 10:38 am
sabai ramro chhn yaar baas sabaiko mujhi alag alag chh ……………
October 26th, 2010 at 4:06 am
k ho deepak sir khali hirini lai matra chance dine
aaba dekhi new roll ko lagi k ta ko pani adisun line garnu please
yadi malae fit deknuhun 6 bhane ek film ma acting garne chance denu bhaya
aabhari hune thiya. mero id anurag.sharma60@yahoo.com ho yas ma contact gare malai khusi lagne thiyo . hagur ko pani id dinu la.